काठमाडौं । केन्या सरकारले विवादित वित्तीय विधेयक फिर्ता लिएको छ । २२ जनाको ज्यान जाने गरी भएको हिंसक प्रदर्शन पछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्तीय विधेयक फिर्ता लिएको घोषणा गरेका हुन् ।
सरकारले निएको उक्त विधेयकमा विवादास्पद कर वृद्धिसम्बन्धी प्रावधान राखिएको थियो । जसको विरोधमा केन्याका नागरिक सडकमा उत्रिएका थिए । प्रदर्शनकारीले संसदको एक भागमा आगलागी समेत गरेका छन् ।
सरकारले ल्याएको उक्त विधेयकमा पाउरोटीमा १६ प्रतिशत बिक्री कर र खाना पकाउने तेलमा २५ प्रतिशत कर लगाउने प्रावधान थियो । त्यस्तै सवारीसाधनमा २.५ प्रतिशत, वित्तीय लेनदेनमा पनि कर बढाउने जस्ता प्रावधान उक्त विधेयकमा राखिएको थियो ।




