काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलो पटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने छन् । दुई नेताबीच गत वर्ष पनि सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण पहिलोपटक गर्न लागेका हुन् । अमेरिकाले आफू ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउन’ चिन्तित रहेको बताएको छ ।
क्रेमलिनले यस भ्रमणलाई ‘मैत्री राज्य भ्रमण’ भनेको छ र रुसी मिडियाका अनुसार, पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दासहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने तथा दुई नेताले संयुक्त वक्तव्य जारी गर्ने सम्भावना छ । पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्ने सम्भावना छ । उत्तर कोरियामा यो मात्र अर्थोडक्स चर्च हो ।
प्राप्त जानकारीअनुसार पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणका क्रममा बसेका थिए । पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ । साथै भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक पनि रहने छन् ।




