काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज दुई खेल हुदैछन् ।
आज अस्ट्रेलिया र न्यूजील्याण्डबीच पहिलो खेल हिमान्चल प्रदेशको धर्मशाला स्टेडियममा नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुदै छ ।
त्यसैगरी दोस्रो खेल बंगलादेश र नेदरल्याण्डसबीच कोलकोताको इडेन गार्डेन स्टेडियममा अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।
अस्ट्रेलिया भर्सेस न्यूजील्याण्ड
यस विश्वकपमा अस्ट्रेलियाले आफ्ना शुरुका दुई खेलमा हार बेहोरेपछि लगातार तीन खेलमा जित हासिल गरेर विजयी लयमा फर्किएको छ । अस्ट्रेलिया अहिले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
त्यसैगरी न्यूजील्याण्डले भने यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना ५ खेलमा ४ खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलिया र न्यूजील्याण्डबीच अहिलेसम्म १४१ एकदिवसीय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ९५ खेल जितेको छ भने न्यूजील्याण्डले ३९ खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको नतिजा आएको छैन ।
बंगलादेश भर्सेस नेदरल्याण्डस
जारी क्रिकेट विश्वकपमा बंगलादेश र नेदरल्याण्डसले खेलेका ५-५ खेलमा एक एक खेल जितेका छन् । बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको थियो भने नेदरल्याण्डसले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो ।
दुवै देशबीच यसअघि २ एकदिवसीय खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् ।
यो खेलमा हार बेहोरेमा सेमिफाइनलको दौड मुश्किल हुने हुनाले दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।




