विश्व

उत्तर कोरियाले रुसलाई हजार टनभन्दा बढी हतियार पठाएको अमेरिका दाबि

काठमाडौँ । युक्रेन र रुसबीच द्वन्द्व जारी रहेका बेला अमेरिकाले उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप लगाएको छ । ह्वाइट हाउसले उत्तर कोरियाले रुसलाई एक हजार टनभन्दा बढी सैन्य उपकरण र युद्ध सामग्री पठाएको दाबि गरेको हो ।

हालै उत्तर कोरियाली तानाशाह राष्ट्रपति किम जोङ उनले रुसको भ्रमण गरेका थिए । किम रेलबाट रुस पुगेर पुटिनसँग भेटवार्ता गरेका थिए । यस भेटमा उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सहमति भएको विश्वास गरिएको थियो ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उत्तर कोरियाको आणविक कार्यक्रमलाई बढावा दिन किम जोङ उनले हतियारको सट्टा रुसी हतियार प्रविधिको खोजी गरिरहेको अमेरिकाको विश्वास रहेको बताए ।

सेप्टेम्बर ७ मा युद्ध सामग्री र हतियारहरूले भरिएको कन्टेनरहरू उत्तर कोरियाको नाजिन बन्दरगाहको जहाजमा लोड गरिएको थियो, जुन अक्टोबर १ मा रूसको ड्युन पोर्टमा पुगेको थियो । जहाजमा रुसी झण्डा फहरिरहेको थियो । यसपछि कन्टेनरहरूलाई दक्षिण-पश्चिम रूसमा ढुवानी गर्न रेलको मद्दत लिइएको अमेरिकाको दाबि छ ।

यसअघि अमेरिकाले उत्तर कोरियाले आफ्नो सहयोगी रुसलाई गोलाबारूद, तोपखाना र रकेट उपलब्ध गराएको आरोप लगाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *