काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले अलपत्र अवस्थामा परेका र आतंकको मारमा परेका नेपाल फर्कन बाँकी नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । दुतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु दुतावासले जनाएको हो ।
नेपाल फर्काइसकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको जनाएको छ । त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ । दूतवासका अनुसार अहिले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी गरेको छ ।
हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको दूतावासले जनाएको छ । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।





