काठमाडौँ । यस बर्षको चिकित्सातर्फको नोबेल पुरस्कार काटालिन करिको र ड्रेयू वाइजम्यानलाई दिइएको छ ।
दुवैलाई यो सम्मान न्यूक्लियोसाइड आधार परिमार्जनसँग सम्बन्धित उनको खोजको लागि दिइएको हो । यो खोजले कोरोनाभाइरस अर्थात् कोभिड-१९ विरुद्धको प्रभावकारी एमआरएनए खोपको विकासमा मद्दत गरेको थियो । नोबेल समितिका सचिव थोमस पर्लम्यानले कोरोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गरेका हुन् ।
कारिको र वाइजम्यानले हाम्रो प्रतिरक्षा प्रणालीसँग कसरी एमआरएनएले अन्तरक्रिया गर्छ भन्ने हाम्रो बुझाइलाई मौलिक रूपमा परिवर्तन गरेर दुवैले आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतरा टारेको भन्दै उनीहरुको यस योगदानका लागि नोबेल पुरस्कार दिइएको नोबेल पुरस्कार समितीले जनाएको छ ।
चिकित्सा क्षेत्रमा नोबेल पुरस्कारको घोषणासँगै नोबेल पुरस्कारको घोषणा सुरु भएको छ । अब मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने भएको छ । यस बाहेक नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिने छ र अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कार विजेता अक्टोबर ९ मा घोषणा गरिनेछ ।




