खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाममा तीन विश्व कीर्तिमान

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीनवटा दुर्लभ विश्व कीर्तिमान बनाएको छ । चीनमा जारी एसियन गेम्समा पुरुष क्रिकेटअन्तर्गतको खेलमा नेपालले सबैभन्दा धेरै रन बनाउने, कम बलमा शतक र अर्धशतकको कीर्तिमान बनाएको हो ।

मंगोलियाविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३१४ रन बनायो । यो टी–२० अन्तर्राष्ट्रिय खेलकै सबैभन्दा उच्च स्कोर हो । नेपालले यसअघि अफगानिस्तानको नाममा रहेको २७८ रनको रेकर्ड तोडेको हो ।

खेलमा कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व रेकर्ड बनाएका छन् । मल्लले कुल ५० बलमा १३७ रन बनाए । यसअघि अष्ट्रेलियाका डेभिड वार्नर र भारतका रोहित शर्माले ३५ बलमा शतक बनाएर कीर्तिमान बनाएका थिए । मल्लले सो रेकर्ड तोकेका हुन् ।

दिपेन्द्रसिंह ऐरीले नौ बलमै ५० रन बनाएर अर्को विश्व रेकर्ड बनाएका छन् । ऐरीले भारतका युवराज सिंहका रेकर्ड तोडेका हुन् । युवराजले १२ बलमा अर्धशतक बनाएका थिए । ऐरीले नौ बलमै अर्धशतक बनाएर युवराजको रेकर्ड तोडेका हुन् । ऐरीले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

१० बलको सामना गर्दा उनले आठ छक्का हिर्काए ।
नेपालका कुशल भुर्तेलले १९, आशिफ शेखले १६, कुशल मल्लले १३७, रोहित पौडेलले २७ बलमा ६१ रन र दिपेन्द्र ऐरीले १० बलमा ५२ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *