काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षको निर्वाचनमा चतुरबहादुर चन्दलाई बर्दिया क्रिकेट संघक अध्यक्ष विनय राजभण्डारीले चुनौती दिने भएका छन् ।
निर्बिरोध निर्वाचित हुने तयारीमा रहेका चन्दलाई अन्तिम समयमा राजभण्डारीले चुनौती दिने घोषणा गरेका हुन् । क्यानका वर्तमान अध्यक्ष चन्द फेरि सो पदमा दोहोरिने तयारीमा रहेका छन् ।
क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने शनिबार नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ ।
क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।
राजभण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।




