खेलकुद

स्पेनका महिला फुटबल खेलाडीले फेरि गरे राष्ट्रिय टोली बहिस्कार

स्पेन । स्पेनका महिला फुटबलरहरुले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन् ।

गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन् ।

गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडीले संयुक्तरुपमा राष्ट्रिय टोली बहिष्कार गर्ने घोषणा गरेका थिए।

विश्वकप विजेता टोलीका २३ मध्ये २१ जनासहित ३९ खेलाडीले संयुक्त विज्ञप्ति जारी गर्दै अझै आफूहरुले सुरक्षित महसुस नगरेको बताएका छन् । साथै उनीहरुको हड्ताल जारी रहने विज्ञप्तिमा उल्लेख छ । उनीहरुले रुबियालेसलाई कारबाही नभएसम्म राष्ट्रिय टोली बहिष्कार गरिरहने बताएका छन् ।

संयुक्त विज्ञप्तिमा खेलाडीहरूले राष्ट्रिय टोलीमा उपस्थित नहुन आवश्यक कानुनी प्रभावहरूको अध्ययन गरिरहेको बताउँदै बहिष्कारको निर्णय आफ्नो भविष्य र स्वास्थ्यको लागि उत्तम भएको उल्लेख गरेका छन् ।

प्रशिक्षक टोमले युएफा महिला नेसन्स लिगका लागि स्विडेन र स्विट्जरल्यान्डविरुद्ध खेल्ने टोलीमा दुई पटककी बालोन डी’ओर विजेता एलेक्सिया पुटेलासलाई सामेल गर्दा हर्मोसोलाई विश्राम दिएका थिए । महिला नेसन्स लिगअन्तर्गत स्पेनले शुक्रबार स्विडेन र आगामी बुधबार स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *