समाचार

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौं।अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्ध अभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ ।

अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा विमान दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ ।

विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी सुरक्षा निकायका २० जना सदस्य थिए ।

दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ । संयुक्त युद्ध अभ्यासमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् ।

उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *