विश्व

बलात्कार गर्न नदिएपछि पिटेर किशोरीको हत्या, उत्तर बंगालमा प्रदर्शन उग्र बन्दै

काठमाडौं।भारतको उत्तर बंगालस्थित दार्जिलिङ र कालिम्पोङका जिल्लाहरू बन्द भएको छ । सिलगुढीको एक स्कुलकी छात्राको हत्याको विरोधमा बन्द गरिएको हो ।

बलात्कार गर्न नदिएको भन्दै १७ वर्षीय बालिकाको हत्या भएपछि विरोधमा धेरै राजनीतिक दलहरूले शनिबार बन्दको आह्वान गरेको हो ।

यस घटनामा प्रान्तीय सरकारको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा)ले धेरै जिल्लामा विरोध प्रदर्शनमा सहभागी जनाएको थियो ।

गत सोमबार स्कुलबाट फर्किएकी १७ वर्षीया किशोरीलाई २२ वर्षीय युवकले बलात्कार गर्न खोजेका थिए । पछि सिलगुढीको माटिगारा क्षेत्रको जीर्ण घरमा किशोरीको शव फेला परेको थियो ।

अभियुक्त मोहम्मद अब्बासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ । यसैबीच बुधबार आरोपीको घरमा तोडफोड गरी उनका परिवारका सदस्यमाथि पनि कुटपिट भएको छ ।

किशोरीको हत्या घटनाको विरोधमा प्रदर्शनका क्रममा दार्जिलिङ, कालिम्पोङ, कुर्सियोङ, मिरिक र अन्य क्षेत्रहरूमा अधिकांश सवारी साधनहरू सडकमा बन्द थिए ।

पसल र अन्य प्रतिष्ठानहरू पनि बन्द भएको थियो । ठूलो संख्यामा मानिसहरू घरभित्रै बसेका थिए । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *