संसद

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन् ।

एमालेको निरन्तर अवरोधका कारण आजको बैठक पनि चल्ने सम्भावना न्यून छ । एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै साउन १० गतेदेखि निरन्तर दलन अवरुद्ध गर्दै आइरहेको छ ।

यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको संलग्ता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन । उसले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *