काठमाडौँ । अमेरिका जारी फिफा महिला फुटबल विश्वकपबाट बाहिरिएको छ ।
आइतबार सम्पन्न राउण्ड १६ को खेलमा स्विडेनसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित हुदै स्विडेनले अमेरिकालाई पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा अमेरिकाले चौथो र पाँचौ पेनाल्टी तथा सातौं पेनाल्टी मिस गरेको थियो ।
त्यस्तै स्विडेनले तेस्रो र चौथो पेनाल्टी मिस गरेपनि खेल ५-४ ले जितेको थियो ।
योसँगै डिफेन्डिङ च्याम्पियन समेत रहेको अमेरिका विश्वकपबाट बाहिरिएको छ भने स्विडेन क्वाटरफाइनलमा पुगेको छ ।
अब क्वाटरफाइनलमा स्विडेनले जापानको सामना गर्ने छ । अहिलेसम्म स्विडेन र जापानसहित स्पेन र नेदरल्याण्डस जारी विश्वकपको क्वाटरफाइनलमा पुगेका छन् ।




