काठमाडौँ । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ ।
बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन् ।
बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए । एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए । यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ ।
मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए । उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयतामाथि प्रश्न उठाएको आरोप लगाइएको छ ।
बोल्सोनारोलाई दोषी ठहर गर्ने न्यायाधीशहरूको प्यानलको अध्यक्षता न्यायाधीश अलेक्जान्डर डे मोरेसले गरेका थिए । आफ्नो निर्णयको घोषणा गर्दै, न्यायाधीशले ब्राजिलका अधिकारीहरूले आपराधिक कट्टरपन्थी र देशको शक्तिमा आक्रमणलाई सहने छैन भनेर देखाएको बताए ।
साथै भ्रामक समाचार, गलत जानकारी सहन नहुने बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तर, बोल्सोनारोले आफूमाथि लगाइएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै बोल्सोनारोले निर्णयको विरुद्धमा अदालत जाने बताए ।
बोल्सोनारो गत आम चुनावमा आफ्नो प्रतिद्वन्द्वी लुला डे सिल्भासँग नजिकको प्रतिस्पर्धामा पराजित भएका थिए । नतिजाको बिरूद्ध ब्राजिलमा दंगा भयो, र बोल्सोनारो समर्थकहरूले ८ जनवरीमा ब्राजिलका सरकारी भवनहरूमा प्रवेश गर्ने प्रयास गरेका थिए ।




