काठमाडौं । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ यो महीनाको अहिलेसम्मको अवधिमा १२ प्रतिशतले बढेको छ । जुन शुरु भएयता बिट्क्वाइनको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बुधवार प्रतिगोटा बिट्क्वाइनले ३० हजार डलरको स्तर नाघ्यो । क्वाइन म्याट्रिक्सको तथ्यांक अनुसार भाउ यो स्तरमा उक्लिएको अप्रिल १४ यता पहिलो पटक थियो ।
अमेरिकी सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकले बिट्क्वाइन ईटीएफका लागि आवेदन दिएपछि भाउ बढेको विश्लेषण गरिएको छ । ठूला संस्थाहरूले बिट्क्वाइन वा अन्य डिजिटल सम्पत्तिहरू अंगाल्नेतर्फ कदम चालेको खबरले पनि भाउ बढेको हुन सक्छ ।
यो वर्ष क्रिप्टो बजारमा तरलता (मार्केट डेप्थ)अति नै पातलो छ । बजारमा तरलता न्यून भएको बेलामा ठूला खेलाडीहरूले खरीदविक्रीका लागि अर्डर दिए ।
यो वर्ष शुरु भएयता बिट्क्वाइनको मार्केट डेप्थ २० प्रतिशतले घटेको काइकोको तथ्यांकले देखाएको छ । यस मामिलामा बिट्क्वाइन अन्य क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा मारमा परेको छ । बजारमा तरलता थोरै भएको बेलामा थोरै मागले पनि भाउ बढाएको सीसीडेटाका अनुसन्धान प्रमुख जेमी स्ले बताएका छन् । अमेरिकाले क्रिप्टो उद्योगमाथि कडाइ कसिलो बनाएपछि बजारमा तरलता अभाव उत्पन्न भएको थियो ।
अमेरिकी शेयर नियामक सेकले क्वाइनबेस र बाइनान्स जस्ता प्रमुख एक्सचेञ्ज गृहमाथि मुद्दा हालेको थियो । अहिले बजारमा कारोबार पातलो हुनुको कारण खुद्रा व्यापारीहरू बजारमा नफर्किनु पनि हो । सन् २०२१ मा बिट्क्वाइनको भाउ उत्कर्षमा भएको बेलामा दैनिक कारोबार १ खर्ब डलरसम्म पुगेको थियो । अहिले कारोबारको रकम २४ अर्ब डलर आसपास छ । भाउ बढ्न थालेपछि अरु बेला खुद्रा व्यापारीहरू बजारमा छिरिसक्थे । यसपटक यस्तो भएको छैन । एजेन्सी




