काठमाडौँ । रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रुसको सैन्य नेतृत्वलाई ध्वस्त पार्ने चेतावनी दिएपछि रुस युक्रेन युद्धले नयाँ मोड लिएको छ । त्यसको केही घण्टाअघि रुसले उनलाई ‘सैन्य विद्रोह’ गरेको आरोप लगाएको थियो ।
येभगेनी प्रिगोजिनले वाग्नर समूहका लडाकुहरू युक्रेनी सीमा पार गरी रुसको रोस्तोभ-अन-डोन सहरमा प्रवेश गरेको बताएका छन् ।
यसैबीच, रसियाबाट प्राप्त रिपोर्टहरूका अनुसार, येभगेनी प्रिगोजिनले रोस्तोभ-अन-डोन शहरमा रहेको रूसी सेनाको दक्षिणी मुख्यालयलाई नियन्त्रणमा लिएका छन् । एउटा भिडियोमा, येभगेनी प्रिगोजिन हेडक्वार्टरमा प्रवेश गर्दै र यहाँ तैनाथ सैन्य कमाण्डरहरूसँग हात मिलाउँदै देखिएका छन् ।
एक भिडियोमा प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेई शोइगु र जनरल भ्यालेरी गेरासिमोभ आफूसँग भेट्न नाआएमा मस्कोतर्फ अगाडी बढने चेतावनी दिएका छन् । प्रिगोजिनले भने, ‘हामी यहाँ पुगेका छौं । हामी सेना प्रमुख र सोइगुलाई यहाँ भेट्न चाहन्छौं । उनीहरु नआउन्जेल हामी यहाँ बस्नेछौं, रोस्तोभ शहरलाई घेरा हाल्नेछौं र त्यसपछि मस्को जान्छौं ।’
यसैबीच, मस्कोलाई दक्षिणी प्रान्तहरूसँग जोड्ने महत्वपूर्ण राजमार्ग एम४ बन्द गरिएको छ । लिपेत्स्क प्रान्तका गभर्नरले यसको पुष्टि गरेका छन् । एम४ राजमार्गले रोस्तोभ र मस्को जोड्छ ।
प्रिगोजिनले उनका लडाकुहरूले आफ्नो बाटोमा आउने जे पनि नष्ट गर्ने चेतावनी दिएका छन् ।
वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन
यसैबीच, प्रान्तीय गभर्नरले नागरिकहरूलाई शान्त रहन र घरभित्रै बस्न आग्रह गरेका छन् । समाचार एजेन्सी रोयटर्सले रोस्तोभको सडकमा तैनाथ वाग्नर समूहका लडाकुहरूको तस्बिर जारी गरेको छ ।
प्रिगोजिनले आफ्ना लडाकुहरूले रुसी हेलिकप्टरलाई खसालेको दाबी गरेका छन् । वाग्नर समूह युक्रेन युद्धमा रूसी सेनाको साथमा लड्ने निजी लडाकुहरूको सेना हो ।
वाग्नर समूह र रुसी सेनाबीच युद्धमा लड्ने तरिकालाई लिएर पछिल्ला महिनाहरूमा तनाव बढ्दै गएको थियो । यस बीच, प्रिगोजिन रूसी सैन्य कमाण्डरहरूविरुद्ध आक्रामक बन्दै गएका थिए ।
६२ वर्षीय प्रिगोजिनले रुसी सेनाले आफ्ना लडाकुहरूलाई लक्षित गरी मिसाइल आक्रमण गरेको आरोप लगाउदै रुसी सेनाविरुद्ध नै लड्ने घोषणा गरेका थिए ।
त्यस्तै रुसी अधिकारीहरूले प्रिगोजिनका आरोपहरूलाई अस्वीकार गर्दै ‘गैरकानूनी गतिविधिहरू’ तुरुन्तै बन्द गर्नुपर्ने बताएका थिए ।
प्रिगोजिनले रुसको सैन्य नेतृत्वमा हावी रहेको ‘दुष्ट’लाई रोक्न आवश्यक रहेको बताएका छन् । न्यायका लागि अगाडि बढ्ने उनले बताए ।
पुटिन र रूसी सेनाको स्थितिमा एक नजर
टेलिग्राममा पोष्ट गरिएको एक अडियो सन्देशमा प्रिगोजिनले भने- ‘युक्रेन युद्धमा हाम्रा लडाकुहरूलाई मार्ने र हजारौं सैनिकको मृत्यु गराउनेहरूलाई सजाय दिइनेछ ।’ प्रिगोजिनले भने, ‘म तिमीलाई विरोध नगर्न भन्छु । हाम्रो विरोध गर्ने जो कोहीलाई खतरा मानिनेछ र नष्ट गरिनेछ ।’
प्रिगोजिनले यो सैन्य विद्रोह नभएर न्यायका लागि लडाइँ भएको पनि बताएका छन् । उनले भने, ‘राष्ट्रपतिको कार्यालय, सरकार, प्रहरी र रुसी गार्डले पहिलेको जस्तै काम गर्नेछन् । यो सैन्य विद्रोह होइन न्यायको लागि लडाई हो । हाम्रा गतिविधिहरूले सिपाहीहरूको बाटोमा हस्तक्षेप गर्दैनन् ।’
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले राष्ट्रपतिले स्थितिको अनुगमन गरिरहेको र हरेक पल घटनाक्रमको जानकारी लिइरहेको बताएका छन् । शुक्रबार रातिदेखि राजधानी मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारी भवन र यातायात केन्द्रहरूमा सेना तैनाथ गरिएको छ ।
त्यस्तै लिपेत्स्क प्रान्तका गभर्नरले नागरिकहरूलाई दक्षिण यात्रा नगर्न अपील गरेका छन् । लिपेत्स्क युक्रेनको सीमाबाट करिब २८० किलोमिटर र रोस्तोभबाट ५०० किलोमिटर उत्तरमा पर्छ ।
यसैबीच, जनरल सुरोभोयकिनले एक सन्देशमा प्रिगोजिनलाई आफ्ना लडाकुहरुलाई रोक्न र आधारमा फर्कन अपील गरेका छन् । जनरल सुरोभिकिन युक्रेनमा रुसी सेनाका उपप्रमुख हुन् र उनले विगतमा प्रिगोजिनको प्रशंसा गरेका थिए । जनरल सुरोवायकिनले भने, ‘हाम्रो रगत एक हो, हामी लडाकु हौं। हाम्रो देशको लागि कठिन समयमा दुश्मनको हातको कठपुतली बन्नु हुँदैन ।’
रुसको संघीय अनुसन्धान एजेन्सी (एफएसबी) ले प्रिगोजिनविरुद्ध रुसविरुद्ध सशस्त्र विद्रोहको आह्वान गरेको आरोप लगाउँदै अनुसन्धान सुरु गरेको रुसी सरकारी सञ्चारमाध्यमले जनाएको छ । प्रिगोजिनमाथि रसियामा सैनिक विद्रोह सुरु गरेको पनि आरोप छ ।
एफएसबीले वाग्नर समूहका लडाकुहरूलाई प्रिगोजिनको आदेश पालन नगर्न र उनलाई पक्रन कदम चाल्न भनेको छ ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रिगोजिनले वाग्नर समूहका लडाकुहरूमाथि रुसले गरेको आक्रमणबारे सामाजिक सञ्जालमा फैलाएको सबै रिपोर्ट झुटो भएको बताएको छ ।
मे महिनाको सुरुमा, प्रिगोजिनले लडाकुहरूको शवको बीचमा उभिएको र वाग्नर समूहका लडाकुहरूलाई पर्याप्त हतियार उपलब्ध नगरेकोमा रुसका रक्षामन्त्री र सैन्य कमाण्डरहरूको आलोचना गरेको भिडियो जारी गरेका थिए ।
शुक्रबार उनले सोइगुलाई मार्सल बनाउनका लागि युक्रेनमा युद्ध सुरु भएको दाबी गरेका थिए ।
रुस वाग्नर समूहको त्यो निजी सेना
युक्रेनमा वाग्नर समूहसँग रुसका लागि लडिरहेका हजारौं भाडाका सैनिकहरू रहेको विश्वास गरिन्छ । हालसालै, वाग्नर समूहका सिपाहीहरूले युक्रेनी सेनाबाट बाख्मुट शहर लिनको लागि लामो लडाइँ लडे र रुसको अग्रिममा महत्त्वपूर्ण भूमिका खेले ।
वाग्नर समूहले आफूलाई ‘निजी सैन्य कम्पनी’ को रूपमा वर्णन गर्दछ, तर अब रुसी सरकारले समूहलाई लगाम लगाउन कदम चालेको देखिन्छ, किनभने यसका प्रमुख प्रिगोजिनले राष्ट्रपति पुटिन विरुद्ध विद्रोह गरेको दाबी गरेका छन् ।
वाग्नर समूह पहिलो पटक २०१४ मा पहिचान गरिएको थियो जब यसले युक्रेनमा रुस समर्थक पृथकतावादी सेनाहरूलाई समर्थन गरिरहेको थियो ।
त्यतिबेला यो एक गोप्य समूह थियो, जुन प्रायः अफ्रिका र मध्य पूर्वमा सक्रिय थियो र यो मानिन्छ कि त्यस समयमा यो समूहमा जम्मा पाँच हजार लडाकुहरू मात्र थिए, तर तीमध्ये अधिकांश रुसी विशेष बलका सैनिक थिए ।
बिस्तारै समूहमा लडाकुको संख्या बढ्दै गयो । बेलायतको रक्षा मन्त्रालयले जनवरीमा वाग्नर समूहसँग युक्रेनमा करिब ५० हजार लडाकूहरू रसियाको तर्फबाट लडिरहेको बताएको थियो ।
रुसले आफ्नो सेनामा भर्ती गर्न कठिनाइको सामना गरिरहेकोले संगठनले २०२२ मा ठूलो मात्रामा भर्ती गरेको मन्त्रालयले जनाएको छ ।
त्य्सैअग्री अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले यस वर्षको सुरुमा युक्रेनमा लडिरहेका वाग्नर समूहका लडाकुहरूमध्ये ८० प्रतिशत जेलबाट भर्ती गरिएको बताएको थियो । वाग्नर समूहका एक पूर्व सैनिकले बीबीसीलाई युक्रेनमा युद्ध हुनुअघि यो समूहमा सामेल भएका मानिसहरू साना गाउँबाट आएको बताएका थिए । यी गाउँहरूमा राम्रो तलबको जागिर पाउन गाह्रो थियो । त्यही भएर उनीहरू यो समूहमा आवद्ध भएका हुन् ।
वाग्नर ग्रुपमा काम गर्नेहरूले १५०० डलर तलब पाउथे । कुनै सिपाही रणभूमिमा लड्न गएमा दुई हजार डलर पाइन्थ्यो । यद्यपि रूसमा भाडाका सेनाहरूमा प्रतिबन्ध छ । वाग्नर समुहले २०२२ मा एक कम्पनीको रूपमा दर्ता गर्यो र सेन्ट पिटर्सबर्गमा नयाँ कार्यालय खोल्यो ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट थिंक ट्याङ्कका डाक्टर स्यामुएल रमानीका अनुसार वाग्नर समूहले रुसी शहरहरूमा बिलबोर्डहरू राखेर लडाकुहरूलाई खुल्ला रूपमा भर्ती गरिरहेको छ र रूसी मिडियामा देशभक्त संगठनको रूपमा प्रचार गरिएको छ ।
युक्रेनमा वाग्नर समूह रुसले पूर्वी युक्रेनको बाख्मुट सहर कब्जा गर्दा वाग्नर समूहले यसमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
युक्रेनी सिपाहीहरूका अनुसार वाग्नर समूहका लडाकुहरूलाई खुला मैदानमा युवालाई ठूलो संख्यामा पठाइएको थियो, जसले गर्दा उनीहरूका धेरै मानिसहरू मारिएका थिए ।
रूसको रक्षा मन्त्रालयले सुरुमा वाग्नर समूहको लडाइँमा संलग्नता अस्वीकार गरेको थियो, यद्यपि पछि साहसी र नि:स्वार्थ भूमिका खेलेकोमा भाडाका सेनाहरूको प्रशंसा गरेको थियो । युक्रेनमा आफ्ना सेनाले ठुलो धक्का बेहोरेपछि रुसले रणनीतिक रुपमा नै वाग्नर समुहलाई लड्न पठाएको विश्वास गरिन्छ ।




