काठमाडौँ । राष्ट्रपति सी जिनपीङले चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गरेका छन् । ब्लिन्केन पछिल्लो पाँचबर्षमा चिनियाँ राष्ट्रपतिलाई भेट्ने पहिलो विदेशमन्त्री हुन् ।
दुई दिने चीन भ्रमणमा बेइजिङ पुगेका ब्लिन्केनसँगको भेटपछि राष्ट्रपति सीले दुवै पक्षबीच केहि स्पेसिफिक विषयमा सहमति भएको भन्दै यो राम्रो भएको प्रतिक्रिया दिएका छन् । चिनियाँ मिडियाहरुका अनुसार राष्ट्रपति सीले ब्लिन्केनको चीन भ्रमणले अमेरिका-चीनको सम्बन्धलाई सामान्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि ब्लिन्केनले आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । उनले ब्लिन्केनसँगको भेटपछि भनेका थिए- ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ ।’
ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।
चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।
सीसीटीभीले भनेको छ- ‘यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।’
भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिङ्केनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताएको सीसीटिभीले जनाएको छ ।




