काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने भ्रमणका लागि आइतबार चीन आइपुगेका छन् । यस क्रममा उनले अमेरिका र चीनबीच बढ्दो तनाव कम गर्ने प्रयासबारे छलफल गर्ने बताइएको छ । पाँच वर्षपछि उच्च अमेरिकी अधिकारी राजकीय भ्रमणमा चीन पुगेका हुन् ।
मिडिया रिपोर्टका अनुसार ब्लिन्केनले आइतबार आफ्ना चिनियाँ समकक्षी किन ग्याङ र सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश नीति प्रमुख वाङ यीसँग भेट गर्नेछन् । यसबाहेक उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने बताइएको छ ।
यसअघि चिनियाँ विदेशमन्त्री किन ग्याङले ब्लिन्केनलाई अमेरिकाले ताइवान प्रश्नमा चीनको अडानलाई सम्मान गर्नुपर्ने बताएका थिए । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने चेतावनी दिए । साथै प्रतिस्पर्धाको नाममा चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितलाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने बताएका थिए ।
यसअघि, उनले फेब्रुअरी २०२३ मा चीन भ्रमण गर्ने कार्यक्रम थियो, तर संयुक्त राज्य अमेरिकामा एक संदिग्ध चिनियाँ जासूस बेलुन भेटिएपछि भ्रमण स्थगित भएको थियो ।




