काठमाडौँ । इटालियन ओपन टेनिसको महिलातर्फको उपाधि काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छन् ।
रोममा गएराति भएको फाइनलमा युक्रेनकी अहेलिना कलिनिना रिटायर्ड हर्ट भएपछि रिबाकिना च्याम्पियन बनेकी हुन् । वर्षाले प्रभावित बनाएको खेलमा सातौँ वरीयताकी रिबाकिनाले पहिलो सेट ६–४ ले जितेकी थिइन् ।
दोस्रो सेटमा मस्कोमा जन्मिएकी रिबाकिनाले १ – ० अंकको अग्रता लिएकी थिइन् । तर कलिनिनाले देव्रे खुट्टामा लागेको चोटका कारण प्रतिस्पर्धालाइ निरन्तरता दिन सकिनन् । ६५ मिनेटमा कोर्टबाट कलिनिना बाहिरिएपछि रिबाकिना च्याम्पियन भइन् ।
यसअघि उनले इन्डियन वेल्स जितेकी थिइन् । समग्रमा भने उनको यो पाँचौ उपाधि हो ।
विम्बल्डन च्याम्पियन रिबाकिना ओपन एरामा एकै सिजन अस्ट्रेलियन ओपन, रोम, मायामी र इन्डियन वेल्सको फाइनल पुग्ने तेस्रो खेलाडी हुन् ।
फ्रेन्च ओपन अघि रिबाकिना वरीयतामा सुधार गर्दै चौथो स्थानमा पुग्नेछिन् ।
पुरुषतर्फको फाइनलमा होल्ग रुन र ड्यानियल मेतभेदेभबीच प्रतिस्पर्धा हुनेछ ।




