काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसियडाडसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न खेलमा रियल सोसियडाडले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आफ्ना प्रमुख खेलाडी करिम बेन्जमा, लुका मोड्रीच र भिनिसिय जुनियर बिना खेलेको रियल म्याड्रिड यो हारपछि अब लिगको उपाधि लगभग बार्सिलोनाले जित्ने निश्चित भएको छ । ला लिगाको ३३औ खेलपछि बार्सिलोना रियल म्याड्रिडभन्दा १४ अंकले अगाडी रहेको छ भने अब ५ खेल खेल्न बाँकी रहेको छ ।
यस खेलमा रियल सोसियडाडका लागि टेकफुसा र एण्डर बारेनेटसीले एक एक गोल गरेका थिए ।
त्यस्तै यस खेलमा खेलको ६१औं मिनेटमा डानी कार्भाजोलले रातो कार्ड आएर मैदान छोडेपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । उनले दुई पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।
यो हारपछि रियल म्याड्रिडको ३३ खेलमा ६८ अंक रहेको छ । त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ६१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।




