खेलकुद

महिला फुटबल ओलम्पिक छनौट: नेपाल र भियतनाम भिड्दै

काठमाडौं । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग खेल्ने भएको छ । समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल नेपालले भियतनामसँग आज खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् । भियतनामको टोली सोमबार नै काठमाडौँ आइसकेको छ । ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत महिना भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँगको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले यस खेलमा नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरीयताले खेलमा खासै असर नगर्ने बताउर्दै आफनो टोलीले उतकृष्ट खेल खेल्ने विश्वास व्यक्त गरे । फिफा वरियतामा नेपाल भन्दा भियतनाम माथिल्लो स्थानमा छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भएता पनि आफनो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफनो पक्षमा पार्ने बताए ।

यसैगरी नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफुहरु तयार रहेको भन्दै वरियताले असर नगर्ने बताइन् ।

त्यस्तै भियतनामसँगको दोस्रो खेल चैत्र २५ गते शनिबार हुने छ ।

भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिम :

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर: समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ ।

मिडफिल्डर: रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी ।

फरवार्ड: अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *