खेलकुद

दीपेन्द्रले लिए युएईको पाँचौँ विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई पाँचौँ विकेटको सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईको पाँचौँ विकेट ढलेको हो । पाँचौँ विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीको बलमा रोहन मुस्तफा एलबीडब्लु धरापमा परे । उनी २० रन बनाएर आउट भएका हुन् ।

पाँचौँ विकेट गुमाउँदासम्म युएईले ३७ ओभर ३ बलमा १ सय ७५ रन बनाएको छ । यससँगै ऐरीले जारी खेलमा दुई विकेट लिन सफल भएका छन् ।

यसअघि चौथो विकेटको रुपमा आयान खान क्याचआउट भएका थिए । दीपेन्द्रसिंह ऐरीकै बलमा गुल्सन झाले खानलाई क्याचआउट गरेका हुन् । खानले ११ बलमा ३ रन मात्रै जोड्न भ्याए ।

यसअघि, तेस्रो विकेटको रुपमा युएईका रिजवान सीपी रन आउट भएका थिए । ६७ बलमा ४ चौका प्रहार गर्दै ३७ रन बनाएका उनी भीम सार्कीको बलमा आसिफ शेखबाट रन आउट भए ।

२२ ओभर ६ बलमा ११८ रन जोड्दा युएईले तेस्रो विकेट गुमाएको हो । यसअघि युएईले १६ ओभर ३ बलमा ९८ रन जोड्दा दोस्रो विकेटको रुपमा कप्तान महम्मद वासिमलाई गुमाएको थियो ।

अर्धशतक पूरा गर्दै ६३ रन जोडेका वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका हुन् । वासिमले ४९ बलको सामना गर्दा २ चौका र ६ छक्का प्रहार गर्दै युएईको सम्मानजनक स्कोर तयार गरे । नेपाली बलरसामू चुनौती प्रस्तुत गरिरहेका वासिमलाई आउट गर्न कडा मेहनत गर्नु परेको थियो ।

यस्तै, २.५ ओभरमा नेपालले युएईको पहिलो विकेट लिएको थियो । नेपाली बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले युएईका आर्यन लाक्रालाई ६ रन जोड्दा बोल्ट आउट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *