समाचार

फार वेस्ट बाहिरियो, विराटनगर प्ले अफ नजिक

काठमाडौं। हस्मतुल्लाह शाहिदीको अर्धशतकका बाबजुद फार वेस्टर्न युनाइटेडले नेपाल टी २० लिगमा विराटनगर सुपर किङग्ससँग तीन रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले ६ विकेटको क्षतिमा एक सय ४७ रनको योगफल तयार गरेका थियो।

जवाफी ब्याटिङमा उत्रिएको फार वेस्टले सात गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो। फार वेस्टका लागि ४६ बलको सामना गरेका शाहिदीले आठ चौका र एक छक्कासहित ५८ रनको इनिङ खेले। उमार अली २३ रन बनाएर आउट हुँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

विराटनगरका लागि राज नननले चार ओभरमा सर्वाधिक तीन विकेट लिन ३२ रन खर्चिए। सूर्य तामाङले दुई तथा किओन जोसेफ र नन्दन यादवले एक-एक विकेट लिए।

पहिलो इनिङनमा हुसेन तलले विराटनगरका लागि उत्कृष्ट इनिङ खेलेका थिए। तलतले २९ बलमा पाँच चौका दुई छक्कासहित ५० रनको महत्त्वपूर्ण इनिङ खेले। छैटौं नम्बरमा क्रिजमा उत्रिएका विवेक यादवले २० बलमा अविजित ३५ रन बनाउँदा अर्जुन साउद २२ र कप्तान रोहित पौडेल २१ रन बनाएर पेभेलियन फर्केका थिए।

फार वेस्टका लागि उमार अलीले दुई तथा करण केसी र दुर्गेश गुप्ताले एक-एक विकेट लिए। लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सय यसअघि नै प्ले अफमा पुगिसकेका छन्। पराजयसँगै फार वेस्टको प्ले अफ सम्भावना समाप्त भएको छ।

लुम्बिनी १६, जनकपुर १४ अंकसहित शीर्ष दुई स्थानमा छन्। तेस्रो स्थानको काठमाडौं नाइट्सको ९ खेलबाट आठ अंक छ। चौथो स्थानको विराटनगरको पनि समान आठ अंक छ। पोखरा एभेन्जर्स ९ खेलबाट ६ अंक जोडेर पाँचौं स्थानमा छ। प्ले अफमा काठमाडौं, पोखरा, विराटनगरमध्ये दुई टिम पुग्ने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *