काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुंगा डुबेर तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ४ मा पिकनिक खाएर फर्किएका युवाहरू चढेको डुंगा गोकुलनगरको नर्सहीस्थित नारायणी नदीको घोलामा डुंगा पल्टिँदा दुर्घटना भएको हो ।
नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वप्रति आक्षेप लगाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जानकारी दिउको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो। अदालतमा मुद्दा दर्ता भएसँगै मंगलबारदेखि सन्दीपको बयान हुनेछ र सोही दिन थुनछेक बहस शुरू हुने छ।
विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो ।
रसियाले युक्रेनको राजनधानी कीभलगायतका कतिपय स्थानमा भिषण क्षेप्यास्त्र प्रहार गरेको छ । आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभलगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ । क्षेप्यास्त्र प्रहारका कारण युक्रेनमा बिजुली, पानी लगायत अत्यावश्यक कुराहरु बन्द भएको छ ।




