समाचार

पूर्वसांसद थापाको निधन

काठमाडौ । पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो । पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी हुनुहुन्थ्यो ।

स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उहाँ विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले)बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गर्नुभएका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो ।

स्व थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । विसं २००६ मा रामपुर–१० को गेझामा स्व बुबा कुवेरसिं थापा र आमा मनीमाया थापाका जेठो सन्तानका रूपमा जन्मनुभएका उहाँले विसं २०३६ देखि १४ वर्षसम्म भानुभक्त मावि गेझामा अङ्ग्रेजी विषय अध्यापन गराउनुभएको थियो । आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरियाकर्म सम्पन्न नहुँदै उहाँको बिहान ९ बजेतिर निधन भएको हो ।

बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उहाँले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहनुभएको स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिनुभयो । पाल्पाका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *