काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा पूर्व जनप्रतिनिधि पक्राउ परेका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार उक्त स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएका थिए ।
इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर जिल्ला कार्यालयमा जिम्मा लगाएको हो । उनलाई निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए ।




