समाचार

वीरगञ्ज महानगर प्रमुखले दिए राजीनामा

काठमाडौं । वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने भएपछि सरावगीले राजीनामा दिएका हुन् ।

सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले बताइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनेकी छन् ।

स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (वैशाख ११ र १२ गते) उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दर्ता अघि राजीनामा दिनुपर्ने व्यवस्था छ ।

‘मैले उपप्रमुखमार्फत राजीनामा दिइसकेको छु,’ महानगर प्रमुख सरावगीले भने, ‘मैले आफ्नो सवारी साधनसहित सम्पूर्ण हिसाबकिताब बुझाएर क्लियर भइसकेँ ।’ हाल नेकपा एमालेमा प्रवेश गरेका सरावगी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महानगर प्रमुखमा विजयी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *