काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाई दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाई दिन आग्रह गरेको हो । प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता-कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।
आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनु पर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको जानकारी गराएका थिए ।
बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उनको भनाइ छ । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै छलफलसमेत गरेका छन् । दल दर्ताको समय आयोगले दिएका बेला विप्लव नेतृत्वको नेकपा आयोगमा गएको थिएन । चुनावमा भाग लिने वा नलिने भन्ने विवादका कारण सो पार्टीको दल दर्ता भएको छैन ।




