वगादुगु । बुर्किना फासोका पूर्व राष्ट्रपति ब्लाइस कोम्पाओरलाई आफ्ना चमत्कारिक उत्तराधिकारी नेता थोमस सान्काराको हत्यामा संलग्न रहेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । अदालतमा कोम्पाओरेको अनुपस्थितिमा सो सजाय सुनाइएको हो ।
सन् १९८७ मा सैनिक विद्रोहमार्फत कोम्पाओरेलाई सत्तामा पुर्याउने अभियानको दौरान ३७ वर्षीय सान्कारालगायत अन्य बाह्र जनाको गोली हानी हत्या गरिएको थियो । विगतमा तिनीहरू निकै मिल्ने साथी थिए । सन् १९८३ उनीहरू दुवैले मिलेरै सत्ता हत्याएका थिए ।
आफ्नो साम्राज्यवादीविरुद्धको कडा अडान र अनुशासित जीवनशैलीका कारण सान्कारा अफ्रिकाभरि अधिकांश व्यक्तिका अत्यन्तै मनपर्ने व्यक्तित्व बन्न सफल भएका थिए । केवल ३३ वर्षको उमेरमा सत्ता कब्जा गरेपछि भ्रष्टाचारविरुद्ध मार्क्सवादी क्रान्तिकारी अभियान चलाएर उनले स्वास्थ र शिक्षामा मुलुकको अधिकांश बजेट खर्च गरेका थिए ।
यद्यपि आफ्ना विपक्षीहरूलाई दवाउन उनले मानव अधिकार उल्लंघन गर्ने गरेको अरोप लगाइने गरिएको थियो । बीबीसी पश्चिम अफ्रिकाका संवाददाता लाल्ला साइले छ महिना सम्म चलेको मुद्दाको निणर्यलाई अदालतमा उपस्थित सबैले ताली बजाएर स्वागत गरेको बताएका छन् ।
तर उनले तत्कालै सजाय भोग्ने सम्भावना कमै रहेको बताइएको छ । सन् २०१४ मा भएको आम विरोध प्रदर्शनपछि सत्ताबाट अपदस्थ भए यता उनी आइभोरी कोस्टमा निर्वासित जिवन बिताउँदै आइरहेका छन् । साथै उनले त्यहाँको नागरिकता समेत हासिल गरिसकेका छन् ।
उनले यसअघि नै आफूविरुद्ध चलाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए । यस मुद्दामा कोम्पाओरेका सुरुक्षा प्रमुख हेसिन्थे काफान्दो लगायत दसजनालाई पनि दोषी ठहर गरिएको छ ।




