काठमाठौं । उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण असफल भएको छ । उक्त क्षेप्यास्त्र बुधबार बिहान उत्तर कोरियाको प्योङयाङ नजिकै खसेको दक्षिण कोरियाको राजधानी सोलबाट सञ्चालित एनके न्युजले जनाएको छ ।
दक्षिण कोरियाली सेनाले एक विज्ञप्ति निकाल्दै प्योङयाङ नजिकैबाट गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ । प्योङयाङ नजिकै क्षेप्यास्त्र खसेपछि उत्तर कोरियाको राजधानीमा ठूलो आवाज सुनिएको एनके न्यूजले उल्लेख गरेको छ ।
न्युक्लियर पोलिसी प्रोग्रामका अंकित पान्डाले क्षेप्यास्त्र परीक्षण नराम्रोसँग असफल भएको जनाए । क्षेप्यास्त्र खसिसकेपछि प्योङयाङको आकासमा देखिएको धुवाँको रंगबाट यो क्षेप्यास्त्रमा मानिसका लागि हानिकारक हुने पदार्थ राखिएको यकिन गर्न सकिने पान्डाले दाबी गरे ।
उत्तर कोरियाले गत जनवरी ११ मा एक ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो भने त्यसअघि पनि हाइपरसोनिक मिसाइल समुद्रतर्फ प्रक्षेपण गरेको थियो । त्यसअघि उत्तर कोरियाले सन् २०१७ मा ह्वासोङ-१५ क्षेप्यास्त्र परीक्षण गरेको थियो ।




