राजनीति

‘मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौँ, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोष सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको नभइ द्वैध चरित्र भएका नेताहरुको भएको टिप्पणी गरेका छन् ।

उनले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताएका हुन् ।

सत्ता गठबन्धनमै रहेर एमसीसीको विपक्षमा उभिएका दल तथा तिनका नेतालाई महामन्त्री शर्माले अब एउटा कित्ता समात्न सुझाव दिएका छन् ।

“सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को,” उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,“ अब टुंगो गरौँ, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले राष्ट्रहरु समृद्ध बनेका छन् कि, जिम्मेवार राष्ट्रवाद’ले ?”

उनले सरकारमा रहँदाको मर्यादा पालना गर्न पनि भनेका छन् । “ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा उहाँको नैतिक जबाफदेहीता खोजिन्छ नै तर सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता,” उनले भने,“कि भनौं गठबन्धनमा छौँ, सरकारमा छैनौँ । कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।”

एमसीसीका सम्बन्धमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिरहेका छन् । तर, माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादीकै भ्रातृ संगठनहरुले बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैलाई संकेत गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन् । यस क्रममा उनले कम्युनिस्टहरुको कटु आलोचना पनि गरेका छन् ।

उनले लेखेका छन्,“मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौँ, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ, सिकाउँछ भनौँ आफैँ सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसीविरुद्ध केही उच्च कमरेडहरु कि नलजाई उभिनु भएको छ कि मौन–ध्यान मुद्रामा बस्नुभएको छ । लज्जा स्वयं लज्जित दृश्य हो यो ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *