काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ।
सोमबार माओवादी केन्द्रले प्रदेश कमिटीलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।
एक वडामा कम्तिमा पनि ३ वटा टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरुलाई पार्टी कमिटीमा ल्याउन परिपत्रमा भनिएको छ । यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन गनै पनि निर्देशन दिइएको छ ।
स्थानीय तहको निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि परिपत्रमा भनिएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३० गतेका लागि तोकेको छ ।




