संखुवासभा।चैनपुर आयुर्वेद औषधालयले स्थानीय स्तरमा पाइने जडीबुटीको बारेमा स्थानीयलाई जानकारी दिएको छ ।
पछिलो चरण आयुर्वेद तथा योगको चर्चा बढेसँगै चैनपुर आयुर्वेद शाखाले नगरपालिका भर विभिन्न कार्यक्रमहरु राख्दै आएको छ । संसारकै सबैभन्दा पुरानो र प्रभावकारी पद्धती योग तथा आयुर्वेद भएको आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद रायले बताए । यस अघि शिक्षकहरुलाई योग तालिम, विद्यार्थीहरुलाई, सुरक्षाकर्मीहरु, न्यायकर्मी लगायतलाई योग तालिम सम्पन्न गरिसकेको समेत जानकारी दिए ।
विना साइटइफेक्ट उपचार गर्न सकिने पद्धतीहरु मध्ये जडीबुटीको प्रयोग धेरै उपयोगी रहेको बताउदै वनस्पतीबाट, जनावरबाट, समुन्द्रबाट, खनिजबाट यस्ता औषधी प्राप्त गर्न सकिने जानकारी निरीक्षक रायले दिए । स्थानीय स्तरमा पाइने जडीबुटी चिराइतो, गुडुची, कुरिलो, अँलैची, जटामसी तुलसीपत्र, हर्रो, बर्रो, अमला, पिप्ला, मरिच लगातका धेरै औषधीजन्य जडीबुटीको बारेमा जानकारी दिए ।
योग र आयुर्वेद एक साथ रहने भएकाले आयुर्वेद शाखाले सञ्चालन गरिरहेको योग अभ्यासलाई निरन्तरता दिने समेत जनाएको छ । चैनपुर नगरपालिकाको आर्थिक सहयोगमा प्राप्त योग ड्रेस तथा म्याट ४० जना योगकर्मीहरुलाई प्रदान गरेको छ । नगरपालिकाको १ लाख र योगमा संलग्न सदस्यहरुबाट समेत संकलन गरेर सो सामग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सचिव कुमार बाबु अधिकारी, नेपाली काँग्रस जिल्ला सदस्य ज्ञानबहादुर कार्की, योग समिति अध्यक्ष फूर्वा शेर्पा, विभिन्न वडाका वडाध्यक्षहरु लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएको कार्यक्रम सञ्चालक आयुर्वेद योग समितिका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिए ।




