विश्व

पश्चिमा मुलुकसँग रसियाको तनाव बढिरहेका बेला चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । बेइजिङ र चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ ।

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् ।

त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला भेट हुन लागेको हो ।

कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो ।

पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् ।

डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए । युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *