संकल्पखबर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनका विरुद्घमा बनेको पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन् ।
बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा जनमोर्चका उम्मेदवार पनि विजयी भएपछि अध्यक्ष केसीले धन्यवाद दिन जारी गरेको विज्ञप्तिमा ५ दलीय गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् ।
‘प्रतिगमनका विरुद्घ कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं’ केसीले भनेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको प्रयासले एमालेका उम्मेदवार पराजीत हुनुले प्रतिगमन परास्त भएको गनतन्त्रको रक्षामा सहयोग पुगेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीका सबै क्रियाकलाप गणतन्त्र विरोधी भएको उनले आरोप लगाएका छन् ।
ओली अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरी गणतन्त्रको नाममा देशमा फाँसीवाद कायम गर्ने षड्यन्त्रमा रहेको उनले बताएका छन् ।
राष्ट्रिय सभामा रिक्त हुनलागेका २० पदमध्ये बुधबार १९ पदमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट जनमोर्चाका उम्मेदवार लप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।




