समाचार

राप्रपाका उम्मेदवारलाई प्रदेश १ मा ६६ मत बोनस

संकल्पखबर । बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले ६६ मतभार बोनस पाएका छन्।

राप्रपाका तर्फबाट उम्मेदवार बनेका झापाका अम्मरबहादुर विष्टले पार्टी बाहिरका एक प्रदेशसभा सदस्य र एक स्थानीय तहका उम्मेदवारको भोट पाएका थिए।

राप्रपाका प्रदेशसभा सदस्य १ जना र स्थानीयतर्फका जनप्रतिनिधि ४ जना रहेका छन् ।

जसमा राप्रपाका मतदाता तथा गौरीगन्ज गाउँपालिकाका मेयर बाबुराजा श्रेष्ठ मतदानमा सहभागी भएनन्।

काठमाडौंमा छोरीको वैवाहिक समारोह भएपछि उनी मतदानमा सहभागी नभएका हुन् ।

तर, विष्टलाई पार्टी बाहिरबाट एक प्रदेशसभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधिले भोट दिएपछि उनको मतभार धेरै आएको हो ।

उनले पाउनुपर्ने मतभार पार्टीका एक जना अनुपस्थित हुँदा ३ स्थानीय तहका जनप्रतिनिधि र एक प्रदेशसभा सदस्यगरी १०२ मतभार थियो ।

तर उनले १६८ मत भार पाए । अर्थात उनले पार्टी बाहिरबाट ६६ मतभार बढी पाए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम हुन्छ ।

विष्ट भने आफू पराजित हुँदाहुँदै पनि काँग्रेस कम्युनिस्टले माया गरेको प्रतिक्रिया दिन्छन् ।

उनले भने, ‘कसले हाले थाहा भएन तर स्थानीय साथीहरुले माया गर्नुभयो होला नि ?’, उनले भने, ‘मैले त के भन्नुपर्यो भने गौरादहका प्रदेश सांसद हिक्मत कार्की र उपमेयर गीता भेटवालले हाल्नु भयो ।’

राप्रपाले अन्य प्रदेशमा उम्मेदवार खडा नगरेपनि प्रदेश १ मा भने उम्मेदवार खडा गरेको थियो ।

यस्तै अन्य प्रदेशमा उम्मेदवार नभएकाले राप्रपाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय नै गरेको थियो । अम्मरबहादुर विष्ट झापाका चर्चित राप्रपा नेता हुन् ।

झापामा राप्रपाका चर्चित तीन नेताहरुमा राजेन्द्र लिङदेन, राम थापा र अम्मरबहादुर विष्ट तीनजनाको नाम आउँछ । लिङदेन अहिले पार्टीको केन्द्रीय अध्यक्ष छन् भने थापा प्रदेश १ का अध्यक्ष छन् । विष्टचाहिँ हालै केन्द्रीय कमिटीमा मनोनित भएका नेता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *