काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरूको बैठकले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको हो ।
सो बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । यस्तै, सो बैठकले पार्टीका चार जिल्ला तहका नेतालाई निष्कासनको घोषणा गरेको छ ।
पार्टीको हितविपरीत क्रियाकलाप र गतिविधि गरेकोले उनीहरूलाई निष्कासन गरिएको हो । निष्कासित हुनेमा काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिसअनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गङ्गामाया लामा र सचिव धनजित लामा रहेका छन् ।
उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।




