काठमाडौं।नेकपा (माओवादी केन्द्र)को हुन लागिरहेको प्रदेश १ अधिवेशनमा केन्द्रीय सदस्य तथा सङ्घीय सांसद सुदन किराँतीले समेत उम्मेदवारी दिने बताएका छन् ।
प्रदेश पार्टी नेतृत्वका आकांक्षीहरूबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरी देश र जनताको सेवा गर्ने सङ्कल्पसहित अध्यक्षमा उम्मेदवारी रहनसक्ने सङ्केत किराँतीले गरेका हुन । किराँतीले पार्टीभित्र व्यापक धमिरा प्रवृत्ति फस्टाएको भन्दै त्यो प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बेला भएकोसमेत बताए ।
‘समीक्षा र आत्मसमीक्षा नगर्ने, पार्टी निर्माणको सङ्कल्प नगर्ने, आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति देखा परे अध्यक्षमा मेरो उम्मेदवारी स्वाभाविक रहनेछ ।’ पार्टीभित्र सर्टिफिकेट देखाएर धमिराले काठ खाएझैँ पार्टीलाई खाने प्रवृत्तिलाई परास्त गर्नु नै अहिलेको नेतृत्वको अगाडि मुख्य चुनौती भएको उनले बताए ।
पार्टी निर्माणको सङ्कल्प नगर्ने र पुरानै प्रवृत्तिले पार्टी चलाउँछु भन्ने हो भने यसखालको नेतृत्व अबको माओवादी पार्टीमा कार्यकर्ताले स्वीकार गर्न नसक्नेमा किराँतीको जोड रहेको छ । माओवादी केन्द्रले सबै प्रदेशमा यही २५ गते एकसाथ अधिवेशन सम्पन्न गर्दै छ । पार्टीको प्रदेश १ मा हालसम्म पार्टी अध्यक्षका लागि सुरेशकुमार राई, इन्द्र आङवो र हेमराज भण्डारीको पनि चर्चा रहेको छ ।




