भक्तपुर ।नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापतिमा संस्थापन इतर पक्षका नेता भेषबहादुर कार्की ३६० मत पाई विजयी भएका छन्।
उनका प्रतिस्पर्धी विदुरमानसिंह बस्नेतले २३८ मत पाए। बस्नेत कोइराला खेमाका नेता हुन्। क्षेत्रीय अधिवेशनको उम्मेदवारी मनोनयन दर्ता गर्ने वेला बस्नेत क्याम्प परिवर्तन गरी संस्थापन पक्षमा लागेका थिए।
क्षेत्रीय सचिवमा ईश्वर खड्का र सविन ढुंगेल तथा सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी भए। कार्य समिति सदस्य महिलामा रिना महर्जन, खुल्लामा बाबुकाजी डंगोल, विरजी श्रेष्ठ र धर्मभक्त श्रेष्ठ विजयी भए।
कार्य समिति सदस्य आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ, खुल्लामा हरिभक्त हेका र विजेन्द्र प्रजापति, खसआर्य महिलामा दुर्गा न्यौपाने, खुल्लामा प्रह्लाद कार्की र अच्युत केसी विजयी भए। विजयीमध्ये प्रजापतिबाहेक सबै कार्की समूहका हुन्।
प्रदेशसभा क्षेत्र ‘क’बाट नारायणदेवी जाकिबञ्जार, मिठाराम न्यौपाने र मणिराज थापा, प्रदेशसभा क्षेत्र ‘ख’बाट हीरा श्रेष्ठ, राजभक्त श्रेष्ठ र राजेश श्रेष्ठ विजयी भए।
महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ। कुल २५ जना महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन पक्षका १० र इतरपक्षका १५ जना विजयी भए।
महाधिवेशन प्रतिनिधितर्फ महिला आदिवासी जनजातिको निर्वाचन जिल्ला अधिवेशनका वेला गर्ने भएको छ। मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि आदिवासी जनजाति महिलाको निर्वाचन स्थगित गरेको मतदान केन्द्र प्रमुख राम हाडाले जानकारी दिए।
महाधिवेशन प्रतिनिधि खुल्ला महिलामा रमा कोइराला पौडेल, अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्माचार्य विजयी भए।
महाधिवेशन प्रतिनिधि खुल्लामा दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर, अष्टकुमार कवे र सन्तोष भट्टराई विजयी भए।
त्यस्तै आदिवासी जनजाति खुल्लामा दिलकृष्ण प्रजापति, ज्ञानदास प्रजापति र रामकाजी चक्रधर निर्वाचित भए भने खसआर्य महिलामा संगीता थापा र सुमित्रा सापकोटा, खसआर्य खुल्लामा उमेश खड्का, अच्युतप्रसाद मिश्र र लछुराम न्यौपाने विजयी भए।
खड्का गोला प्रथाबाट विजयी भएका हुन्। धर्मराज कार्कीसँग २८८ बराबर मत भएपछि गरिएको गोला प्रथामा खड्का विजयी भएका हुन्।
महाधिवेशन प्रतिनिधि दलितमा पूर्ण नेपाली विशुंके र मुस्लिम, अपांग र मधेसीमा कसँबहादुर कोजु विजयी भए।
महाधिवेशन प्रतिनिधिमा जिल्लाका केही हस्ती पराजित भएका छन्। पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य एवम् सभासद् मनमोहन भट्टराई, पूर्वजिल्ला सभापति महेश श्रेष्ठ, संस्थापन इतर समूहबाट क्याम्प परिवर्तन गरी संस्थापन पक्षमा लागेका कोइराला खेमाका वरिष्ठ पत्रकार कविर राणा र माथवरसिंह बस्नेत हुन्।




