समाचार

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

दमौली । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।

दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । यसैगरी व्यासले पनि सोही अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन् ।

हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *