समाचार

अवरुद्ध संसद सुचारु गराउन एमालेलाई गृहमन्त्री खाणको आग्रह

जनकपुर। गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको प्रष्ट्याएका हुन्।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेको उनले बताए। ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन्। र शक्ति सन्तुलनको हिसावले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन्। न्यायपालिकामा जुन खालको विवाद देखिएको छ, त्यो संवेदनशील र गम्भिर छ। त्यो विवाद छिटोभन्दा छिटो सुल्टिोयोस् भन्ने हाम्रो चाहना छ,’ गृहमन्त्री खाणले भने।

सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेलाई अवरुद्ध सदन सूचारु गराउन आग्रह गरे। उनले भने, ‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं। किनकी नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं। म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई तपाईँहरुमार्फत् आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रुपमा चलाऔं। सरकारका कमीकमजोरीहरुलाई पनि सुधार्दै जाऔं।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *