रुकुम (पूर्व) । नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका मगर सर्वसम्मत निर्वाचित भएका छन्।
सिस्ने गाउँपालिका रुकुमकोटमा भएको जिल्ला अधिवेशनमा शनिबार सर्वसम्मत रूपमा रोका मगर सभापतिमा निर्वाचित भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रोका मगर यस अघिका पनि जिल्ला सभापति हुन्।
जिल्ला अधिवेशनले रोका मगरको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। जसको उप–सभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन्। यस्तै धनप्रताप बुढा मगर र खडगबहादुर घर्ती सह–सचिवमा चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा संगिता बुढा मगर, बालकुमारी खड्का घर्ती, रमुना विक, भरत घर्ती मगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कँुवर, मेखलाल बुढा, बसन्तकुमार बुढा र रामबहादुर नेपाली चयन भएका छन्।
दुई दिनसम्म चलेको अधिवेशनले सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको छ। सुरुमा भने सभापति रोकासहित, भीमबहादुर खड्का, तेजेन्द्र खाम मगरलगायत ६ जनाले जिल्ला सभापतिमा दाबी गरेका थिए।
अन्तिममा पार्टीका सम्पूर्ण कार्यकर्ताको भावनाअनुसार निर्वाचन नगरी सहमतिमा रोका मगरलाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ।
पूर्व सहायक मन्त्रीसमेत रहेका रोका मगर पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन्। छुट्टै जिल्ला बनेपछि कांग्रेसको यो पहिलो जिल्ला अधिवेशन हो।




