काठमाडौ ।नेपाली काँग्रेसको जारी पालिका अधिवेशन अन्तर्गत नुवाकोटमा संस्थापन पक्षको बर्चस्व देखिएको छ । यहाँका १२ वटा पालिकामध्ये ८ वटामा नै पार्टीको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाको पक्षका पदाधिकारी सहितको कार्यसमिति चयन भएको छ । अधिकांश स्थानमा निर्वाचन भएको र ती निर्वाचनहरुमा देउवा पक्षको बर्चस्व रहेको देखिएको हो ।
यहाँ विगत लामो समयदेखि आफूलाई संस्थापन मान्दै आएका अर्जुननरसिंह केसी र डा रामशरण महतको पक्षमा पालिकाहरुमा यसपटक भने कमजोर अवस्था देखिएको छ । शनिबार सम्पन्न पालिका निर्वाचनमा १२ मध्ये ४ स्थानमा विजय हासिल गरेका पौडेल पक्षका पनि तीन स्थानमा त एक÷एक मतको फरकले मात्र जितेका छन् । जस्तै पालिकाहरु तारकेश्वर र विदुरमा एक मतले मात्र पौडेल पक्षका सभापति जितेका छन् । ती स्थानमा पनि सभापति बाहेकका अरु पदाधिकारी र अधिकांश कार्यसमितिमा देउवा पक्षकै बढी छन् ।
यता देउवा पक्षका उम्मेदवारले जितेका स्थानमा सबै पदाधिकारी र कार्यसमिति नै आएका छन् भने उता पौडेल पक्षले विजयी भएका स्थानमा भने कतै पनि पूरै पदाधिकारी छैनन् । पौडेल पक्ष विजयी भएका चार पालिकामध्ये एउटामा मात्र पदाधिकारी सहित प्यानलै विजयी भएका छन् भने यता देउवा पक्षले जितेका स्थानमा सबै प्यानल नै विजयी भएका छन् ।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री डा.रामशरण महत र वर्तमान सहमहामन्त्री डा प्रकाशशरण महतको घर रहेको पञ्चकन्या गाउँपालिकामा भने सबै प्यानलै देउवा पक्षका विजयी भएका छन् । जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ताहरु यो सबै सहमहामन्त्री प्रकाशशरण महतको प्रभाव र खटाइले भएको बताएका छन् ।
जिल्लामा यसअघिको वडा अधिवेशनमा पनि यही अनुपातमा संस्थापन अर्थात् देउवा पक्षका पदाधिकारी विजयी भएका छन् । यहाँ अहिले तल्लो स्तरदेखि पालिकाको नेतृत्वसम्म नै देउवा पक्षको वर्चस्व देखिएको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरुले नुवाकोटमा धेरै लामो समयपछि देउवा पक्षको यो जित भएको बताएका छन् । उनीहरु पार्टीमा सहमहामन्त्री डा प्रकाशशरण महतको खटाई र उहाँको प्रभावका साथै पार्टीको आसन्न महाधिवेशनमा सभापति देउवाले उनलाई नै सहमहामन्त्रीको उम्मेदबारका रुपमा अघि सारेकाले यो परिणाम आएको बताएका छन् ।




