काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले अबको ३ महिना देशव्यापी रुपमा संगठन विस्तारको कार्यक्रम गर्ने भएको छ। मंगलबार बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले ७७ जिल्लामै अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
प्रमुख खतिवडाले भने, ‘आवधिक कार्ययोजना बनाएर ३ महिना संगठन विस्तार गर्नका लागि देशव्यापी कार्यक्रम चलाउँछौँ। विधानअनुसार देशका सबै जिल्लाहरुमा सबै पालिका र वडाहरूमा हाम्रो कार्यक्रम सञ्चालन हुन्छ।’
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको उनले बताए।
खतिवडाले थपे, ‘अध्यक्षको प्रतिवेदनमाथि छलफलका लागि ५ समूह निर्माण गरेका छौँ। छलफलको लागि बुधबार १० बजेसम्म समय दिएका छौँ। छलफल अहिले पनि जारी छ।’
बैठकमा राजनीति प्रतिवेदन, समसामयिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन लगायतको एजेण्डा रहेको समेत उनले जानकारी दिए।




