समाचार

बाजुरामा कांग्रेस महाधिवेशनको चहलपहल

मार्तडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन असोज ६ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच चहलपहल बढेको छ । जिल्ला अधिवेशनको तयारी समिति गठनदेखि अन्य व्यवस्थापनका काममा यहाँका नेताहरु वडा केन्द्रित भएर जुटेका छन् ।

सदस्यता विवादले गएको भदौ १९ गते हुने वडा अधिवेशन अन्तिममा आएर स्थगित भएपछि नेता तथा कार्यकर्ता निराश बनेका भए पनि यो पटक भने वडा अधिवेशन पक्का हुने देखिएको छ । अधिकांश वडाहरुमा सहमतिमा नयाँ नेतृत्व चयन गरिसकिएको र घोषणा मात्र गर्न बाँकी रहेको पार्टी सभापति कविराज पण्डितले बताएका छन् । जिल्लाबाहिर रहेका कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका सबै नेता तथा कार्यकर्ता पनि जिल्ला भित्रिसकेका छन् ।

कांग्रेस बाजुराका शीर्षनेताहरुमध्ये केन्द्रीय सदस्य बद्री पाण्डे, पार्टी सभापति कविराज पण्डितदेखि कांग्रेस नेताहरु जनकराज गिरी, देवराज जोशी, मनबहादुर रावल, महा नेपाली, पदम शाही, रामसिंह रावल, जुना दानी, चक्रबहादुर शाह यतिखेर गाउँमै छन् ।

पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा नेताहरु ढुक्क भएर लागेका छन् ।

पार्टीले यही असोज ६ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक फेरि तातेको छ । बाजुरामा नौवटै स्थानीय तहका ६९ वटा वडामा एकै दिन अधिवेशन हुनेछ ।

वडा अधिवेशनका लागि शीर्ष नेताहरु सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । नेताहरु अधिवेशनको दिन आ–आफ्नै वडामा हुने भए पनि आफ्नो प्रभावका लागि सबैतिर पुग्ने प्रयासमा नेताहरु देखिएका छन् । अधिवेशनको व्यवस्थापन तथा तयारीको जिम्मेवारी पाएको टिमले सुरुदेखि नै जिल्लामा रहेर तयारी गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *