समाचार

सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा.महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा.महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताए । “एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उनले भने ।

उनले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताए । डा.महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पारेका छन् । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उनको भनाइ छ ।

उनले चीनसँगको सीमा विवादबारे सरकारले अध्ययन समिति बनाएकाले मिचिएको देखिए सम्बन्धित निकायसँग सरकारले कुरा उठाउने बताए । उनले एमसिसीमा भएका आशङ्काहरु अमेरिकी सरकारले हटाउने विश्वास व्यक्त गरेका छन् ।

सहमहामन्त्री डा.महतले कांग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताएका छन् । “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ”, उनले भने । उनले कांग्रेसको महाधिवेशन आउन झण्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *