शिक्षा / स्वास्थ्य

भारतमा एकै दिनमा साढे ३ लाख कोरोना संक्रमित थपिए, २८ सय भन्दा बढीको मृत्यु

काठमाडौँ । भारतमा लगातार पाँचौँ दिन साढे लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ५२ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ८ सय १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९५ हजार १ सय २३ पुगेको छ मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म १ करोड ७३ लाख १३ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४३ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजारभन्दा बढी छ ।

संक्रमितको सुनामी आएसँगै भारतीय स्वास्थ्य प्रणालीमा गम्भीर समस्या भएको छ। कति अस्पतालमा बिरामीले बेड पाएका छैनन् भने कति ठाउँमा अक्सिजनको हाहाकार भइरहेको छ।

संक्रमित बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढेको बढ्यै छ। आइतबारमात्रै भारतमा २ हजार ८ सय १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भारतमा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान थालेपछि अन्तर्राष्ट्रिय समुदायले सहयोगका हात बढाएका छन्।

अमेरिकाले भारतलाई कोरोना भ्याक्सिन बनाउन चाहिने सामग्री निर्यातलगायत अन्य मेडिकल सामग्री दिने भएको छ। भारतका अरू मित्र राष्ट्रले पनि अक्सिजनलगायत अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *