बागमती प्रदेश

जिल्लाका अस्पतालमा १६७ सङ्क्रमितको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा १ सय ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् ।

जिल्लामा एक केन्द्रीयस्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कतिपयको होमआइसोलेसनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट संक्रमित उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवनसहित १४ जिल्लाका र छिमेकी भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १ सय ५८ वटा शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

शव व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाइएको छ । गणका अनुसार मृत्यु भएकामा चितवनबाहेक सबैभन्दा बढी (२३ जना) नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । त्यसैगरी मकवानपुरका १८, रौतहट पाँच, सर्लाही चार, तनहुँ तीन, गोरखा छ, कैलाली दुई, रुपन्देही दुई, लमजुङ दुई, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक/एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ ।

जिल्लामा हालसम्म संक्रमित भएका पाँच हजार ९ सय ८६ जनामध्ये ९६ जनाको मृत्यु भएको छ भने पाँच हजार ४ सय ८७ जना उपचारपछि निको भएका छन् । अहिले ४ सय २ जना विभिन्न आइसोलेशनमा रहेका छन् । अस्पतालमा उपचार गर्न आएर कोभिड संक्रमण पुष्टि हुनेमा श्वासप्रश्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मिर्गौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बि का बिरामीको बढी सङ्ख्यामा मृत्यु भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमित जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउँछन् । पछिल्लो समय काठमाडौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *