काठमाडौं। कोरोना सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मन्त्रिपरिषद्ले यही मङ्सिर १० गते उक्त निर्णय गरी कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले जानकारी दिए।
कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको बिदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई हस्पिटलमा उपचार गरेको समयावधिसम्म बिदा पाउने उनले भने।
साथै, निजी संघ संस्थाका हकमा समेत सोही अनुसारको व्यवस्था गर्न/गराउन पनि परिपत्रमा उल्लेख गरिएको छ । यो निर्णयसँगै यसअघि कोरोना संक्रमणका कारण कार्यालयमा आउन नसक्नेका कर्मचारीलाई पनि सोही अवधिको कोरोना बिदा पाउने भएका छन् । कोरोनाको कारण कार्यालयमा उपस्थित हुन नसकेका सरकारी तथा अर्धसरकारी निकाय सबैले उक्त बिदा पाउन सक्नेछन् ।





