फुङ्लिङ । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्याएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्याएको हो । फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ ।
गाउँपालिकाको वडा नम्बर १ सावादिन, वडा नम्बर २ खेजेनिम, वडा नम्बर ४ ईखाबु र वडा नम्बर ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै वडा नम्बर ३ लिङखिम, वडा नम्बर ५ तापेथोक र वडा नम्बर ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेवल पुल निर्माण सम्पन्न नभइन्जेल गाउँपालिकाले विगत तीन वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गर्दै आएको छ । अस्थायी काठे मोटरेवल पुलबाट गाउँपालिकाको वडा–वडा र गाउँ-गाउँसम्म गाडी सहजै पुग्दै आएको छ । घर आगनमा गाडी आइपग्दा स्थानीयवासी निकै खुशी भएका छन् ।
तमोर नदीको चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पु¥याएको गाउँपालिकाले यो वर्ष वडा नम्बर १ सावादिन र वडा नम्बर ३ लिखिम जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका ९ सय १ घरपरिवारले यातायातको सेवाबाट लाभान्वित हुनेभएको छ ।
यसैगरी गाउँपालिका–५ छिरुवा र वडा नम्बर ४ इखाबु गाउँ जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेवल निर्माण भएको छ । पुल निर्माणसँगै सो क्षेत्रका ४ सय २२ घरपरिवारले प्रत्यक्ष लाभान्वित हुनेभएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा नम्बर ६ साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका ३ सय घरपरिवारले यातायात सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र ओलाङचुङ गोलाका २९९ घरपरिवारले प्रत्यक्ष रुपमा यातायातको सेवाबाट लाभान्वित भएका छन् ।
स्थानीयवासी आवागमनमा सहजता प्रदान गर्नका लागि काठे मोटरेवल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए ।




